नेपालको इतिहासमा जति कम उमेरका शासक थिए, उनीहरूको काम त्यत्तिकै गर्व गर्न लायक थियो । देश पनि मजबुत थियो । तर, हामी प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको युगान्तकारी व्यवस्थातर्फ पाइला राख्दै गर्दा पुरातनवादी मानसिकता भएका, आत्मरतिभन्दा माथि उठ्न नसकेका, आडम्बरी शैलीका राजनीतिक नेतृत्वबाट शासित हुन बाध्य छौँ ।
आधुनिक नेपालको इतिहासको सुरुवातदेखि हालसम्मका शासकको उमेर र उनीहरूको दूरदर्शिता र निर्णय क्षमताको तुलना गर्दा व्यवस्था परिवर्तन भएर पनि युवाको अपेक्षाअनुसार देश परिवर्तन नहुनुको कारण खोज्न सकिन्छ । राजा महेन्द्रसम्मका शासकले कम उमेरमै देशको शासन सम्हालेका भए पनि उच्च निर्णय क्षमता देखाएका थिए, परिणाम स्वरूप चीन, दक्षिण कोरिया भियतनामलगायतका बजार अर्थतन्त्रहरूको त्यो बेलाको आर्थिक सामाजिक अवस्था र नेपालको आर्थिक सामाजिक अवस्थामा खासै अन्तर थिएन ।
तर, २०४६ सालपछिका अधिकांश शासक ६० वर्ष नाघेका छन् भने उनीहरूको कमजोर निर्णय क्षमता र अदूरदर्शिताले देशलाई आर्थिक तथा सामाजिक दृष्टिकोणले पछि धकेलेकाे देखिन्छ ।
१७७९ सालमा जन्मिएका पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्न सुरुवात गर्दा जम्मा २० वर्षका थिए । उनी ४० वर्ष पुग्दा त् काठमाडौँ उपत्यका जितेर नेपाल एकीकरणको मार्गचित्र कोर्न भ्याइसकेका थिए । त्यसैगरी उनलाई राज्य विस्तारमा सहयोग गर्ने काजी कालु पाण्डे १७७४ सालमा जन्मिएका थिए । गोर्खा राज्यको काजी पद सम्हाल्दा उनको उमेर ३० वर्षजति मात्र थियो ।
त्यसैगरी, १८१४ सालमा जन्मिएका बहादुर शाहले देशको कार्यभार सम्हाल्दा उनको उमेर ३०-३५ वर्षकै हाराहारीमा थियो । त्यसो त आज पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भई बहादुर शाहको नेतृत्वमा पूर्वमा टिस्टा र पच्चिममा सतलजसम्म भएको नेपाल राज्यको विस्तारलाई विभिन्न कोणबाट हेर्ने गरिन्छ । तर, २० वर्षको उमेरमा राज्य विस्तारको सोच बनाउनु र त्यसलाई पूरा गर्नु चानचुने कुरा पक्कै थिएन होइन । पृथ्वीनारायण र बहादुर शाहको सोच, निर्णय क्षमता, अनि दूरदर्शिताले नै आज हामीले नेपाली भनेर गर्व गर्ने भएका छौँ ।
नेपाल एकीकरणमा महत्त्वपू्र्ण योगदान गर्ने सरदार अम्बरसिंह थापाको उमेर एकीकरण अभियानताका ३५-४० वर्षको थियो भने इतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाले १८६३ सालमा शासन सम्हाल्दा उनको उमेर ३१ वर्ष थियो । हुन त आफू शक्तिमा आउन आफ्ना विरोधीहरूप्रति देखाएको क्रुर र अमानवीय व्यवहारलाई नेपाली इतिहासको कालो धब्बा नै भन्नुपर्ला । तर, दक्षिण एसियामा नेपाललाई शक्तिशाली राज्यको रूप्मा स्थापित गर्नमा उनको ठूलाे हात थियो ।
१८७४ सालमा जन्मिएका नेपालको इतिहासका अर्का शक्तिशाली व्यक्ति जंगबहादुर राणा १९०३ सालमा मुख्तियार बन्दा २९ वर्षका थिए । उनी दरबारिया भाइभारदारको षड्यन्त्र, कमजोर राजा, अनि रानीको हैकमबाट कमजोर भएको राज्य प्रणालीको फाइदा उठाउँदै आफू शक्तिमा आए । उमेर सानो भए पनि देशको शान बचाउने कुरामा उनको महत्त्वपूर्ण योगदान छ ।
अंग्रेजलाई खुसी पारी आफ्नो गुमेको केही भूमि फिर्ता ल्याउनु, तिब्बतयुद्धपछिको थापाथली सन्धि, मुलुकी ऐनको निर्माण उनका युगान्तकारी काम हुन् । व्यापक सामाजिक सुधारको अवधारणासहित १९५७ सालमा प्रधानमन्त्री भएका देवशमशेर जम्मा ३७ वर्षका थिए भने सती प्रथाको अन्त्य गर्ने चन्द्रशमशेर १९५८ सालमा प्रधानमन्त्री हुँदा ३८ वर्षका थिए । चन्द्र नहर, चुरिया सुरुङ, फर्पिङ जलविद्युत योजनालागायत तत्कालीन अवस्थाका महत्वाकांक्षी योजना सुरु गरेका उनले नेपालमा शिक्षा र पूर्वाधारको जग बसाएका थिए । आजसम्म एउटा पनि सुरुङ निर्माण नभएको नेपालमा लगभग १ सय वर्षअगाडि नै सुरुङ मार्ग निर्माणको ऐतिहासिक सुरुवात भएको थियो ।
२००७ सालको परिवर्तनपश्चात्का अर्का शक्तिशाली प्रधानमन्त्री बीपी कोइराला २०१६ सालमा प्रधानमन्त्री हुँदा ४६ वर्षका थिए । हुन त बीपी लामो समयसम्म सत्तामा बस्न पाएनन् । तर, उनले विकास गरेको प्रजातान्त्रिक समाजवादको अवधारणाले नेपाली राजनीतिलाई मार्गनिर्देशन गरेको थियो ।बीपीको विचार र उचाई नेपालमा मात्र होइन, एसियाली नेताको रूप्मा विस्तार भएको थियो । बीपीको विचारमा नै उनको दूरदर्शीता झल्केको थियो, त्यसैको ब्याजमा आज कांग्रेस बाँचिरहेको छ ।
बीपी कोइरालापछि युगान्तकारी निर्णय क्षमता भएका अर्का व्यक्तित्व राजा महेन्द्र हुन् । नेपाललाई विश्व मञ्चमा चिनाउने, औद्योगिक बैंकिङ तथा शैक्षिक विकासको जग बसाल्ने, नेपालमा योजनावद्ध विकासको सुरुवात गर्ने कुराको श्रेय यिनलाई जान्छ । २०१३ सालमा राज्यारोहण गर्दा राजा महेन्द्रको उमेर ३६ वर्ष थियो ।
हुन त माथि उल्लेखित पत्रहरूको सम्पूर्ण निर्णय सही थिएन । तर, उनीहरूले गरेका कतिपय कामले नेपालको सामाजिक तथा आर्थिक विकासको दीर्घकालीन बाटो कोरेको थियो । तत्कालीन समयको मागलाई सम्बोधन गर्न उनीहरूको निर्णय परिपक्व र दिगो थियो । उनीहरूमा समकालीन समाजलाई बुझ्ने क्षमता देखिन्छ । आफू शक्तिशाली हुन जे गरे पनि देशप्रति उनीहरूमा माया र लगाभ देखिन्छ । उनीहरूले दिगो र महत्त्वाकांक्षी काम गर्ने आँट गरेका छन् ।
नेपाली राजनीतिक नेतृत्वमा मात्र होइन, निर्णय क्षमतामा पनि बुढ्याैलीपनचाहिँ २०४६ को प्रजातान्त्रपछि नै आएको देखिन्छ । ६७ वर्षको उमेरमा २०४८ सालमा प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले वास्तवमै नेपाली राजनीतिमा बेथितिको सुरुवात गरे- फगत आफ्नो निजी स्वार्थका लागि ।
नेपालको राजनीति, प्रशासन र सुरक्षा संयन्त्रलाई अनिर्णयको बन्दी बनाउने, सरकारी संस्थान तथा शैक्षिक संस्थालाई राजनीतिक भर्ती केन्द्र बनाइ निजीक्षेत्रलाई बढावा दिने कामको सुरुवात नै उनले गरेका थिए । भलै जीवनको अन्तिम अवस्थामा बृहत शान्ति सम्झौतामार्फत तत्कालीन माओवादीलाई शान्ति प्रक्रिया ल्याई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा भूमिका खेलेकाे श्रेय उनलाई जान्छ तर देशले यो अवधिमा जुन किसिमले विकासको फड्को मार्न सक्थ्यो, त्यो हुन नसक्नुमा उनकै अदूरदर्शी कार्यशैली जिम्मेवार छ ।
उनले देशलाई यथास्थितिमा हिँड्न विवश पारे । जसरी मनोवैज्ञानिक रूपमा मानिस उमेर ढल्कँदै जाँदा थाक्छ, निष्क्रिय बन्छ । त्यसैगरी, उनको कामले समाजलाई निष्क्रिय बनायो । २०४६ सालपछि अधिकांश समय सत्ताको वरिपरि रहे पनि उनले देशको आमूल परिवर्तन गर्न सक्ने कुनै योजना ल्याएनन् । न त युवामा जोश जाँगर भर्ने काम नै गर्न सके । सर्वत्र निराशाकै कारण देशले आन्तरिक द्वन्द्वको पनि सामना गर्नुपर्याे ।
उनी मात्र होइन, ४ पटक प्रधानमन्त्री भइसकेका ७३ वर्षीय शेरबहादुर देउवा पनि नेपाली राजनीतिमा विकृति ल्याउन जिम्मेवार नेता हुन् । उनको निर्णय क्षमताको कमी, अदूरदर्शीता तथा बुढेसकालमा देखिने बालहठले नेपाली कांग्रेसलाई मात्र होइन, समग्र राजनीतिलाई विकासको गतिलाई पनि कमजोर बनाइदिएको छ । उनले दिने अन्तर्वार्ता सुन्दा यस्तो लाग्छ, अहिले जे भइरहेको त्यो नै विकास र परिवर्तन हो ।
उनका कुनै पनि अभिव्यक्तिले युवामा जोश जाँगर र नयाँपन भरेको देखिँदैन । आफ्नो कार्यकालमा रुपान्तरण झल्काउने एउटा पनि काम गर्न नसक्ने प्रधानमन्त्रीमध्ये एक शेरबहादुर देउवा हुन् ।
त्यसैगरी, ५७ वर्षको उमेरमा २०६४/६५ मा प्रथम पटक प्रधानमन्त्री बनेका प्रचण्डको अदूरदर्शी निर्णयले देशले राजनीतिक स्थायित्व प्राप्त गर्न करिब १२ वर्ष कुर्नुपर्याे । हाल दुईतिहाइ सरकारको नेतृत्व गरिरहेका ६७ वर्षीय केपी ओली इतिहासकै शक्तिशाली प्रधानमन्त्री भए पनि ‘मेरा गोरुका बाह्रै टक्का’ भन्ने स्वभावका कारण आफैँ कमजोर बन्दै गएका छन् । देश संघियतामा गए पनि उनको पुरातनवादी केन्द्रिकृत सोचाइले सोचेजस्तो प्रतिफल दिन सकेको छैन ।
आफ्नै दूरदर्शी विचारको अभाव हुनु, पार्टी र आफूइतरको सुझावलाई ग्रहण गर्न रुचि नदेखाउनु, गलत तर्कको सहायताले आफूलाई राम्रो र उत्कृष्ट बनाउन खोज्नु उनका कमजोरी देखिएका छन् । उनी यति शक्तिशाली छन् कि अहिलेको मन्त्रिपरिषद्को एउटा निर्णयले युगान्तकारी परिवर्तन ल्याउन सक्छ । तर, सबल र दूरदर्शी सोचकाे अभावका कारण उनी आफैँमा अल्मलिएका छन् । उनमा समकालीन समाजको आवश्यकता बोध गर्ने क्षमता नै देखिँदैन, जुन कतिपय राणा प्रधानमन्त्रीमा थियो, जो ४० भन्दा कम उमेरका थिए ।
त्यसो त बृद्ध हुँदैमा निर्णय क्षमता कमजोर हुन्छ भन्न सकिँदैन । २०४६ सालपछि पनि मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बाबुराम भट्टराईजस्ता देशप्रति इमानदार बन्न चाहनेहरूले शासन गरे तर उनीहरूलाई विभिन्न बहानामा निकम्मा बनाउने काम उनीहरूकै पार्टीबाट भयो ।
गणेशमान सिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराईलाई तत्कालीन कांग्रेसले यति अपमान गर्याे कि उनीहरू पार्टीबाट बाहिरिन बाध्य भए । मनमोहन अधिकारीको नौमहिने शासनकालको ब्याजमा बचिरहेको तत्कालीन एमालेले पनि उनको सम्मान कायम राख्न सकेन । यी सबै कुराको एक मात्र कारण के देखिन्छ भने आजीवन पार्टी र सरकारको नेतृत्व गर्ने आकाङ्क्षामा इमानदारहरूको बलि चढाइयो, फलस्वरुप राजनीति निर्णायक क्षमता नभएका वृद्धहरूको वृद्धाश्रम बन्न पुग्यो ।
नेपालको हकमा इतिहासको कुनै कालखण्डमा कम उमेर भएका नेतृत्वले गरेको परिपक्व निर्णय क्षमताले देशको शीर ठाडो थियो । तर, आज बामे सर्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको पहरेदार पुरातन सोचाइ भएका वृद्धहरू भइदिँदा बदलिएको सामाजिक सोच अनि आर्थिक अवस्थालाई सम्हाल्न नसक्ने अवस्था आउने देखिन्छ । आज देश मात्र संघीय गणतन्त्रमा प्रवेश गरेको मात्र होइन । विश्व भू-मण्डलीकरण र आर्थिक उदारीकरणको प्रभावले नेपालका युवा वर्ग विश्वका नवीनतम सोच र प्रविधिको सिधा पहुँचमा छन् ।
उनीहरूको आकाङ्क्षा, सोच र क्षमता पनि फेरिएको छ । त्यसैले आजको नेतृत्वले उनीहरूको क्षमता सोचलाई सम्बोधन गर्ने गरी शासन गर्न सक्नुपर्छ । संसारभर समावेशीकरणसहितको विकासको लहर चलिरहँदा हाम्रो समाज, जातजाति अनि समुदायमा अन्तरनिहित सामाजिक पुँजीको रूपमा रहेको संस्कारलाई नेतृत्व गर्नेले समेट्न सक्नुपर्छ ।
प्रशासनिक संयन्त्रलाई समयानुकूल परिवर्तन गर्न सक्नुपर्छ । यस्तो कुराको विश्लेषण गर्न नसक्ने पार्टी र नेतृत्वले युवाको आवाज र आक्रोशलाई थेग्न सक्दैनन् । आजको हाम्रो आवश्यकता कुशल व्यवस्थापकीय र प्रशासनिक क्षमता भएको समकालीन आवश्यकतालाई चिन्ने नेतृत्वको हो । पञ्चायतकालमा गाउँमा शासन चलाउने प्रधानपञ्चजस्तो शासकको होइन । काठको टुक्रालाई रकेटको आकार दिएर चन्द्रमातिर फर्काउँदैमा त्यो रकेट हुन सक्दैन । रकेट बनाउन त्यसैअनुरुपको सोच, लक्ष्य र दक्षतापूर्ण नेतृत्व हुनु आवश्यक छ, जुन अहिलेको राजनीतिक पुस्ताबाट सम्भव देखिँदैन ।